कैलाली। नेकपा एकालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको आजबाट पहिलो प्रदेश अधिवेशन सुरु भएको छ।
आज धनगढीमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले अधिवेशनको उद्घाटन गर्ने प्रदेश संयोजक मनोज राईले जानकारी दिए। अधिवेशनको उद्घाटन समारोहमा एमालेका स्थायी कमिटी सदस्य सहित अनेरास्ववियुका केन्द्रीय पदाधिकारी समेत धनगढी पुगिसेका छन्। सुदूरपश्चिम प्रदेशका करिब २५० जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने छन्। आज र भोली जारी रहने अधिवेशनबाट प्रदेशले नयाँ नेतृत्व पाउने भएको छ।
अध्यक्षमा दुई जना- अहिले सम्म अनेरास्ववियु अध्यक्षका लागि २ जनाको दाबी देखिको छ। अहिले संयोजक रहेका मनोज राई र सह संयोजक रहेका कमल रोकायाले अध्यक्ष पदमा दाबी गरेको अनेरास्ववियु केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज दीपक धामीले जानकारी दिए।
आकांक्षी धेरै भए पनि नेतृत्व सर्वसम्मत रूपले चयन गरिने उनले बताए।‘अहिले सम्म २ जनाको दाबी गरिएको छ हामी सर्वसम्मत नेतृत्व चयन गर्छौ ’उनले भने।अध्यक्षमा दाबी गरेका अहिलेका संयोजक मनोज राई कैलाली जिल्ला पार्टी सदस्य पनि हुन्। उनले आफूले संयोजक भएर राम्रो काम गरेको भन्दै फेरी पनि सर्वसम्मत नेतृत्व चयन हुने बताए। ‘हामीले धेरै नयाँ र सृजनशील काम गरेका छौँ। यसलाई अझै निरन्तरता दिनु छ’ उनले भने।
अर्का आकांक्षी कमल रोकाया पनि कञ्चनपुर पार्टी जिल्ला कमिटी सदस्य हुन्। उनले सुदूरपश्चिमको अनेरास्ववियुलाई देशमै उत्कृष्ट र नमुना बनाउन आफूले दाबी गरेको बताए।‘हामी देशभरिनै पहिलो हुनुपर्छ म सुदूरपश्चिम अखिललाई पहिलो बनाउने अभियान सहित अध्यक्षको आकांक्षी हुँ’ उनले भने। श्रावण २८ गते कञ्चनपुरको युवा संघको अधिवेशनमा विवाद भएपछि रोकाया सहितकालाई कारबाही गरिएको थियो। केन्द्रीय सङ्गठन विभागले कारबाही फुकुवा गरेसँगै रोकायाले आफू नेतृत्व लिने गरी तयारी गरेको बताउँछन्। ‘कञ्चनपुरको युवा संघ विवादमा कारबाही भएको सबैको कारबाही फुकुवा भएको छ’ सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए।